-लक्ष्मी अधिकारी
रातदिन यो मरुभुमिमा रगत, पसिना बगाउनु, थोरै तलबमा धेरै घण्टा काममा जोतिनु, देश र परिवार बाट वर्षोँ टाढा बस्न बाध्य , कति अवस्थामा काम गरेको तलब मात्र नपाएर मर्णासन्न अवस्थामा पुग्नु हामी यो अरबभूमिमा काम गर्ने सबै नेपालीको साझा दु:ख हो । हामी यहाँ न त मानव अधिकारको कुरा गर्न सक्छौं, न त कुनै कानूनी लडाइ लड्ने हैसियत नै राख्छौं, नजानेको संस्कारलाई मानेर ठूला-ठूला भवनहरू, बाटोहरु बनाऊनु, गाडि चलाउनु, बैंक तथा ठूला-ठुला कार्यालयको रखवाली गर्नु, विशाल व्यापारिक केन्द्रको हिसाब-किताब समाल्नु, होटेल र रेस्टुरेन्टको काम तथा प्लम्बिंग, इलेक्ट्रिसियन हामीले गर्दै आएका कामहरु हुन् । तर हाम्रो अवस्थामा खासै उल्लेखनिय उन्नति भएको देखिदैन। अर्काको देशले निस्चयनै हाम्रो भविष्यको रेखा कोर्दैन ।
यति बुझ्दा बुझ्दै पनि बाध्य भएर हामी कम्तिमा एक सपना बोकेर नै आएका हुन्छौं । चाहे त्यो चुहिएको घर टाल्नलाई होस्, चाहे त्यो थाप्लोमा लागेको ऋण तिर्न नै होस्, चाहे त्यो छोरा-छोरीलाई राम्रो शिक्षा दिनलाई होस् ।यिनै अथवा यस्तै साना तिना सपनादखि शहरमा घडेरि किनेर घर बनाउने, सम्पती जोडेर आराम र बिलासी जीवन बिताउने सम्मका सपनाको भारि हाम्रो मन मस्तिष्कमा बोकेर हामी बाटो लागेका हुन्छौँ, जुन लगभग झूठो सपना वास्तवमा हामीले म्यानपावर वा एजेन्ट मार्फत किनेका हुन्छौँ।
हो हामीसँग यहाँ सपना पनि छ र अथाहा शारीरिक र मानसिक पिडा पनि, तर यो पिडाको अन्त्य गर्न र सपनालाई पुरा गर्न हामीले अलिक बेग्लै ढंगले सोच्नु पर्ने पो हो कि? निसन्देह हामी संसारका अति गरिब अभागी हौं तर हामी सरणर्थि होइनौ, हामी केहि अशिक्षित पनि हौंला, तर हामी अबिकसित मष्तिस्क बोकेका कुनै जनावर पनि होइनौ । हामी फर्केर जाने देश छ र स्वाबलम्बि बन्न सक्ने मष्तिस्क र शारीरिक क्षमाता पनि छ । तर हामीले हाम्रो यो क्षमतालाई कतिको पहिचान गर्न सकेका छौं, विचारणिय छ । हामीभित्रको त्यो क्षमतालाई कौडीको दाममा किनेर आज मध्यपूर्वका यी देशहरुले अथाह उन्नती गरेका छन्।
जति नै संकिर्णता बोकेको भए पनि यो देशमा संसारका अधिकांस अत्याधुनिक प्रविधी भित्रिइसकेका छन्। हामीले यहाँ जे जस्तोसुकै काम गरेपनि ति प्रविधीहरुकै साथमा काम गरिरहेका छौँ। नयाँ प्राबिधिक ज्ञान लिइराखेका छौं । २-४ वर्ष हामी जुन क्षेत्रमा काम गर्छौं त्यो क्षेत्रको राम्रो ज्ञान हासिल गर्न सक्छौ र गरेका पनि छौँ । चाहे त्यो सडकमा खन्ने काम होस् अथवा सुपरमार्केटमा सामान बेच्ने । प्रत्यक ठाऊँमा हाम्रो काम सँग जोडिएको प्रबिधिक ज्ञान नै हाम्रो सबैभन्दा धेरै उन्नति हो । हामीले प्राप्त गरेको हाम्रो दु:खको ब्याज हो, यसलाई प्रयोग मा ल्याउन सके मनग्य हुन्छ जस्तो मलाई लाग्छ ।
बिडम्बना हाम्रो के भइदियो भने हामी दु:ख गरेर केहि पैसा जम्मा गर्छौं र नेपाल गएर घडेरि जोड्छौं, वा घर बनाउन लाग्छौ अथवा यस्तै अनुत्पादक काममा हाम्रो अधिकास्स कामाइ सकिदिन्छौं, अनि कि फेरि यतै फर्कन्छौ, अथवा आफ्नो पुरानै धन्दालाई निरन्तरता दिन्छौँ । घर घडेरि जोड्नु पर्छ तर यो आफ्नो प्राथमिकतामा पर्नु पर्ने कि अरु कुनै जिविकापार्जनको माध्यमलाई महत्व दिनु पर्ने हो? हामी कति सम्म बिचार पुर्याउदैनौ भने, कतारमा ५ वर्ष इलेक्ट्रिसियनको काम गरेर नेपाल फर्केको एक राम्रो प्राबिधिक भोलि एक म्यानपावरमा जान्छ र अर्कै काममा होस् ऊ साउदीअरबतिर लाग्छ, परिणाम फेरि उहि असक्षम श्रमिक । नेपालमा बिद्युत प्रबिधिक चाहिँ अर्कै देशबाट निम्त्याइएको हुन्छ । हामीकहा यहाँ सयकडौ संघसस्था छन्, जिल्ला, क्षेत्रीय, जातिय आदि- आदि । हामी यहाँ हप्तैजसो बैठक गर्छौँ होटेलको कोठा भाडामा लिएर कार्यक्रम चलाउछौँ। कार्यक्रममा यहा खुब राजनितिक सरगर्मि चलाउछौँ मानौ हामीले यहीबाट हाम्रो देशको सरकार चलाउनु छ। संगठित हुनु राम्रो हो अवश्य पनि तर के प्रयोजनको लागि? हामीले कहिले पनि यहाँ सिकेको ज्ञान र जम्मा गरेको अलिकति पैसालाई आफ्नो देशमा लगेर कसरी परिचालित गर्न सक्छौं भनेर न त छलफल नै चलाउछऔं न त समान खालका काम गर्ने नेपालीबिच संगठन या कुनै माध्यम बनाएर ज्ञान प्रबिधि र त्यसलाई नेपालमा सामुहिक रुपमा लागेर गर्न सकिने कामका सम्भाब्यता प्रतिनै बिचार बिमर्स गर्छौं। हामीसँग यहाँ थोरै पैसा धेरै-धेरै पिडा र सिप भरिएको हुन्छ । अलिकति कमाएको पैसा र आर्जन गरेको धेरै ज्ञानलाई सहि ठाउँमा सामुहिकरुपमा उपयोग गर्ने हो भने हामीले नेपालमा मेचिदेखि महाकालिसम्म नै नयाँ प्रबिधि को साथ नयाँ नयाँ काम गर्ने संस्कृतिको विकास गर्न सक्छौं जुन देशकै नै उन्नतिको कोशेढुंगा साबित हुन सक्छ। तर यो बिषयतर्फ हामीले कहिले समय लगाएर सोचेको छैनौं। हामीले हप्तान्तलाई कहिले सहि सदुपयोग गरेका छैनौं। हरेक शुक्रबार दोहाको नेशनल वरिपरि र, इन्डस्ट्रियल एरियाको अल अतियामा मात्र नेपालिको भिड लाग्छ, त्यहाँ नेपालीलाई चाहिने अनेक आवश्यक र बिलासितका सामानको पसल थाप्ने चाहिँ भारतिय अथवा बंगलादेशी हुन्छन् । शुक्रवार त उनीहरुलाई पनि आउला तर उनीहरु चाहिँ त्यो दिनलाई पनि रचनात्मक बनाउछन्, हामी चाहिँ ऊनीहरुको दुहुनो गाई बनेका हुन्छौ। त्यतिमात्र होइन हाम्रो अस्तब्यस्त सुक्र’bout भिड हटाउन प्रसासनले धेरै पटक बल प्रयोग गरेको देखिएको छ। हामी कति बकम्फुसे देखिएका रहेछौँ।
बिश्वभरि छरिएका नेपालीको क्षमता र सामुहिक लगानी मार्फत देशको सामाजिक र आर्थिक रुपान्तरण गर्ने अभियानका साथ सन् २००३मा स्थपीत गैरआवसिय नेपाली सघं आजसम्म पनि आम साधारण काम गर्ने कतारबासी नेपालीसम्म यस बिषयमा कुनै नियमित ठोस कार्यक्रम लिएर आएको छैन। कतारको NRNको गतिबिधि पनि राजनैतिक खेलमा मज्जाले डुबेको छ। हामी जस्ता सानोतिनो काम गर्ने मज्दुरहरुलाई जिविकोपार्जनको लागि ब्यवसयिक बनाउने काममा जुट्ने हो भने NRN जस्तो संगठनले अति प्रभावकारी भूमिका खेल्न सक्छ । बिदेशिएका नेपाली श्वदेश फर्किदा देशलाई पुग्ने जनसक्ति, ज्ञान-प्रबिधी र लगानीका साथ फर्कन सक्छन् केहि बर्षमानै , यसलाई परिचालन गर्ने संयन्त्र अहिले नै बिकास गर्ने हो भने, तर हाम्रा NRN प्रतिनिधिलाई यो समयनै कहा मिल्ला र? पैसा कमाउनु, कुनै संगठनमा ठूलो पद सम्हाल्नु तर राजनितिक नगर्नु सायद एक सफल नेपालीलाई नसुहउने कुरा होला, त्यसैले हाम्रो समयको यो बाद र पदको राजनितिले हामीलाई बिदेशमा र के सायद पाताल भासिएपनि छोड्दैन।
हामी नेपाली माझमा आएको दुई साप्ताहिक पत्रिकाहरुले पनि खासै यस्तो विषयमा चाख दिएर कुनै नियमित लेखहरु सम्प्रषण गरे जस्तो लाग्दैन। सञ्चारले यहाँ नेपालीलाई धेरै कुरा दिन सक्छ । नेपालीको जिवनस्तर उकास्न खास केहि काम गर्न नसकेका राजनितिज्ञ भनाउदाका राजनितिक गफलाई अलि छोट्याएर हामी यहाँ बस्ने नेपालीलाई देश फर्केपछि केहि गर्न सक्ने बन्नलाई संगठित रुपमा काम गर्ने र गराउने प्रबिधि र कामाएको एक-एक पैसा संकलन गरेर नेपालमा व्यवसायिक बन्न सक्ने सम्भावना र आजको आवश्यकतालाई पत्रिकाको पाना मार्फत छलफल चलाउन सक्छ जुन आजको हाम्रो अपरिहार्यता बनेको छ ।

झापा, हाल दोहा-कतार

टिप्पणी छोड्नुहोस्